२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

सिँचाइ नहुँदा हुम्लाको सयौँ हेक्टर जमिन बाँझै

सिँचाइ नहुँदा यहाँका दुर्गम गाउँका उर्वर जमिन वर्षका १२ महिना बाँझै हुने गरेका छन् । चिनो, कागुनो, मकै, मास्र्या, कपास अन्नबालीसहित काउली, मूला, आलु, बन्दाकोवी लगायत तरकारी उत्पादन गर्न सकिने हुम्लाको अदानचुली गाउँपालिका–१, २ र ३ को श्रीनगर, कल्खे, कफाडी, डिल कफाडी, रातीमाटा, जुक्यानाको उर्वर जमिन सिंचाईको अभावले १२ महिना बाँझै रहने गरेका हुन् ।

सिँचाइको सुविधा भएका हुरा, गल्फागाड, गारपाली, ढकानीकुनाका जमिन भने सधैँ हराभरा हुन्छन् । अन्य ठाउँमा भने स्थानीयवासीले वर्षामा मात्रै खेती गर्ने गरेका भए पनि केही वर्ष यता सो जमिन सिँचाइको अभाबले बाँझिदै गएका छन् । सिँचाइ पुगेका स्थानमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने गरेको छ । उत्पादित तरकारी श्रीनगर बजारसम्म पुर्याउने गरिन्छ । पछिल्लो वर्षमा वर्षा नहुँदा सो क्षेत्रका सयौँ हेक्टर जमिन बाझिँदै गएको अदानचुली–२ का अकबर भण्डारीले बताए ।

उनले बाली लगाउने गरेको वर्षहरुबाट उत्पादन भएको कपासबाट बनाइएका विभिन्न कपडा जिल्लाकै सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासम्म बिक्री गर्ने गरेको भए पनि समयमा पानि नपर्दा जमिनमा बाली लगाउन छाडेको बताए । ‘कफाडीमा सिँचाइको अभावले गर्दा आजभोली वर्षका बाह्रै महिना खेतबारी बाँझै बस्छ,’ स्थानीय कृषक बहादुर महताले भने, ‘जग्गा धेरै छ, सिँचाइ नभएकाले यहाँका अधिकांश वासिन्दालाई आफ्नो उत्पादनले वर्षदिन खान पुग्दैन् ।’

सडकको सुविधा भएको श्रीनगरको कफाडीमा, गल्फागाडबाट करिब १२ किलोमिटरको दूरीमा रहेको डिल कफाडीमा सिँचाइको निम्ति वडा नम्बर ५ को च्याम खोलामा पानी छ तर कुलो निर्माण गर्न आर्थिक समस्या छ । करिब १३ किलोमिटर टाढाको दूरीमा रहेको पानिलाइ यहाँसम्म ल्याउने भने सो जमिन मात्र नभइ वडा नं. १, २ र ३ वटै वडाका जमिन हराभरा हुने किसानको भनाइ छ । स्थानीय तहलेपनि खानेपानिका लागि मात्रै बजेट विनियोजन गर्ने गरेको तर सिँचाइ कुलोका लागि कसैले कुरा नगरेको बताए ।

प्रदेश र सङ्घीया सरकारबाट समेत खल्तीका करोडौँ योजना आउने गरेको तर सो क्षेत्र सिँचाइका लागि अहिलेसम्म कुनैपनि कार्य नगरिएको बताएका छन् । च्यामको पानी श्रीनगरको कल्खेसम्म कुलो निर्माण गर्न सके खानेपानि समेत सोही कुलोबाट ल्याउन सकिने देखिएको वडावासीको भनाइ रहेको छ । वडावासीले गाउँपालिकामा समेत पटक पटक कुरा राखेको भए पनि त्यस प्रति जनप्रतिनिधिले कुनै चासो समेत नदेखाएको बहदुरा महताराले बताए ।

सो खोलाको पानी श्रीनगरसम्म ल्याउन सके करिव चार हजार रोपनी जग्गा सिञ्चित हुने अगुवा कृषक पुन्न बुढाले बताए । च्याम श्रीनगरबाट करिब १३ किलोमिटरको दूरीमा पर्दछ । श्रीनगरवासीले सिँचाइको व्यवस्था गर्न स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकार लगायत विभिन्न संस्थाहरुसँग माग गर्दै आएका छन् । तर पनि योजना झ्यालबाट ल्याए मात्र सम्भव हुने रहेछ । आफुले विभिन्न समयमा माग गरेको भए पनि यहाँको स्थानीय किसानहरुको माग कुनैपनि सरकारले पूरा गर्न नसकेको उनले बताए ।

सिँचाइको व्यवस्था नहुँदा तरकारीका लागि धेरै सम्भावना भएको कफाडीमा पर्याप्त रुपमा तरकारी उत्पादन हुन नसकेको युवा कृषक लोकेन्द्र महताराले बताए । ‘तरकारी खेती गरुभन्दा पनि सिँचाइको व्यवस्था छैन,’ उनले भने, ‘पटक–पटक जिल्ला समन्वय समिति, सिँचाइ कार्यालय र प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी सिँचाइ मन्त्रालयमा निवेदन दिँदा समेत कुनै सुनुवाइ नभएको छैन ।’

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार