कैलालीको टीकापुर नगरपालिका–३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीपज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आजभोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् ।
महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन् । यसबाट हुने आम्दानीले आफूहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ । समूहका सदस्य देशरानी चौधरी आफूहरु तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउँछिन् । उनले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ ।
कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन् । खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोतलगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ । ‘हामीलाई खेती गर्न सहजताका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पावर टिलर, हजारी, क्यारेटलगायत सामग्री उपलब्ध गराएको छ,’ देशरानीले भनिन्, ‘उक्त सहयोगले तरकारी खेती गर्न सहयोग मिलेको छ ।”
एक वर्षमा तीन बाली सागसब्जी लगाउने उनीहरूले एक याममा प्रतिव्यक्ति रु एक लाखसम्म आम्दानी लिने गरेका देशरानीले बताइन् । ‘हामी हरेक महिलासँग तीनदेखि सात वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन,’ उनले भनिन्, ‘बाख्रापालनबाट आम्दानी ठीकै भएको छ ।’ यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे । परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन् ।
महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन् । उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन् । महिलाहरूले हरेक महिना बैठक बस्ने, समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यहरूलाई कृषि क्षेत्रमै खर्च गर्ने गरेको आयोजनाका प्रमुख भरत कँडेल बताउँछन् ।
‘महिलाहरूले कृषि र पशुपालनमा राम्रो काम गर्नुभएको छ । आयोजनाको सहयोगलाई सदुपयोग गर्नुभएको छ,’ उनले भने, ‘घरका लागि तरकारी, पोषण सुधारलगायत आम्दानी गरिरहनुभएकाले आयोजनाका लागि पनि खुसीको कुरा हो, यसरी उत्पादनशील कार्यमा लाग्नेलाई आयोजनाको निरन्तर सहयोग रहन्छ ।’ सिँचाइ आयोजनाले यी किसान महिलालाई बीउमा ५० प्रतिशत, विषादी तथा शुक्ष्मपोषण तत्वमा ७५ प्रतिशत तथा प्रविधि सहयोग गरेको छ ।