२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

चीनमा विश्वकै ठूलो बाँध निर्माण सुरु हुँदा भारतमा बढेको त्रास

चिनियाँ अधिकारीहरूले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेपछि भारत र बाङ्ग्लादेशमा चिन्ता उत्पन्न भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ प्रधानमन्त्री ली चियाङले शनिवार यार्लुङ साङ्ग्पो नदीमा निर्माणको शिलान्यास समारोहको अध्यक्षता गरे ।

यस नदी तिब्बती पठारका साथै कैयौँ दक्षिण एशियाली देशहरू हुँदै बग्छ । यस परियोजनाले नदीको तल्लो तटीय क्षेत्रमा बस्ने लाखौँ भारतीय र बाङ्ग्लादेशीहरूका साथै आसपासको वातावरण र स्थानीय तिब्बतीहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई लिएर आलोचना भइरहेको छ ।

बेइजिङले यस निर्माणकार्यले पारिस्थितिक प्रणालीको संरक्षणलाई प्राथमिकता र स्थानीय समृद्धिलाई बढावा दिने दाबी गरेको छ । यस काम सम्पन्न हुँदा त्यो विश्वको सबैभन्दा ठूलो थ्री गोर्जेज बाँधलाई उछिनेर तीन गुणा बढ्ता ऊर्जा उत्पादन गर्न सक्छ । थ्री गोर्जेज बाँध पनि चीनमै छ । करिब १६७ अर्ब अमेरिकी डलरको यस परियोजनालाई मोटुओ जलविद्युत् स्टेशन पनि भनिन्छ ।

दिल्ली र ढाकालाई चिन्ता

नयाँ बाँधले चीनलाई सीमापार यार्लुङ साङ्ग्पोलाई नियन्त्रण गर्न वा मोड्न सक्षम बनाउने भन्दै केही विज्ञ र अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । यो नदी दक्षिणतर्फ भारतको अरुणाचल प्रदेश र असम राज्यका साथै बाङ्ग्लादेश भएर बग्छ । तल आएपछि यो सियाङ, ब्रह्मपुत्र र जमुना नदीहरूमा मिसिन्छ ।

अस्ट्रेलियास्थित एक थिङ्क ट्याङ्क लोवी इन्स्टिट्यूटले सन् २०२० मा प्रकाशन गरेको एक प्रतिवेदनले ‘तिब्बती पठारमो यी नदीमाथिको नियन्त्रणले चीनलाई भारतको अर्थतन्त्रमा प्रभावकारी रूपमा दबाव दिने’ उल्लेख गरेको छ । यस महिनाको सुरुमा समाचार संस्था पीटीआईसँगको एक अन्तर्वार्तामा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डूले बाँध निर्माणको काम पूरा भएपछि सियाङ र ब्रह्मपुत्र ‘निकै सुक्न सक्ने’ चिन्ता व्यक्त गरे ।

‘बाँधले हाम्रा आदिवासी र जीविकोपार्जनमा अस्तित्वगत खतरा निम्त्याउने छ । चीनले यसलाई एक प्रकारको ‘पानी बम’को रूपमा समेत प्रयोग गर्न सक्ने हुँदा यो निकै गम्भीर छ । यदि बाँध बन्यो र उनीहरूले अचानक पानी छाडे भने हाम्रो सम्पूर्ण सियाङ भेग नष्ट हुने छ,’ उनले भने, ‘खासगरी अदि आदिवासी र उस्तैखाले समूहहरूले आफ्नो सम्पूर्ण सम्पत्ति, जमिन र मुख्य रूपमा मानव जीवनमा विनाशकारी प्रभाव झेल्ने छन् ।’

विगतमा भारतको सङ्घीय सरकारले चीनलाई यस बाँधको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेको थियो । दिल्लीले सियाङ नदीमा जलविद्युत् बाँध निर्माण गर्ने योजना पनि बनाएकाले यसले चीनको बाँधबाट अचानक पानी छोड्ने अवस्थाविरुद्ध ‘बफर’को रूपमा काम गर्नेछ र आफ्ना क्षेत्रमा बाढी रोक्ने छ । चीनको विदेश मन्त्रालयले यसअघि नै भारतलाई जवाफ दिएको थियो ।

बेइजिङले सन् २०२० मा दिएको सो जबाफमा चीनलाई आफ्नो नदीमा बाँध बनाउने ‘वैध अधिकार’ रहेको र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे विचार गरेको जनाएको छ । बाङ्ग्लादेशले समेत यस परियोजनाको बारेमा चीनसँग चिन्ता व्यक्त गरेको थियो । त्यस क्रममा अधिकारीहरूले गत फेब्रुअरीमा बेइजिङलाई पत्र पठाएर बाँधका बारेमा थप जानकारी माग गरेका थिए ।

कस्तो परियोजना ?

चिनियाँ अधिकारीहरूले तिब्बत स्वायत्त क्षेत्रमा पर्ने यस बाँध स्थलको जलविद्युत् क्षमतालाई लामो समयदेखि नियालिरहेका छन् । यो जमिनमा भएको संसारको सबैभन्दा गहिरो र लामो घाटी हो । तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्ग्पोले नाम्चा बर्वा पहाडको वरिपरि ‘यू–टर्न’ बनाउँछ ।

यस नदी मोडिने क्रममा आफ्नो उचाइबाट सयौँ मिटर तल खस्छ, जसलाई ‘ग्रेट बेन्ड’ भनिन्छ । विगतका विवरणले सङ्केत गरेअनुसार अधिकारीहरूले नाम्चा बर्वा पहाड हुँदै कैयौँ २० किलोमिटर लामा सुरुङहरू खन्ने योजना बनाएका छन्, त्यसमार्फत् उनीहरूले नदीको भाग मोड्ने छन् ।

सप्ताहान्तमा बाँध उद्घाटनका लागि ली चियाङको भ्रमणलाई लिएर सिन्ह्वा समाचार संस्थाले इन्जिनियरहरूले ‘सीधा’ गर्ने काम गर्ने र पाँचवटा क्यास्केडिङ पावर स्टेशन निर्माण गर्न ‘सुरुङहरूमार्फत् पानी मोड्ने’ जनाएको छ । सिन्ह्वाले यस जलविद्युत् बाँधबाट निस्कने बिजुलीले खासगरी तिब्बतका आवश्यकताहरू पूरा गर्दै अन्यत्र समेत वितरण गर्ने जनाएको छ ।

‘पश्चिमको बिजुली पूर्वतिर पठाउने’

चीनले विशाल बाँध र जलविद्युत् स्टेशनहरू निर्माण गर्नका लागि देशको पश्चिमी भेगका ग्रामीण भिरालो उपत्यका र शक्तिशाली नदीहरूमा ध्यान बढाएको छ । त्यसले चीनमा बिजुलीको तीव्र आवश्यकतामा रहेका पूर्वी भेगका महानगरहरूलाई सघाउने अपेक्षा गरिएको छ । राष्ट्रपति सी जिन्पिङले व्यक्तिगत रूपमा यस नीतिमा ‘पश्चिमी बिजुली पूर्वतिर पठाउने’ कुरामा जोड दिएका छन् ।

चीन सरकार र सरकारी सञ्चारमाध्यमहरूले यो बाँधलाई प्रदूषण घटाउने र ग्रामीण तिब्बतीहरूको उत्थान गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने गरी सबैले जित्ने खालको समाधानको रूपमा प्रस्तुत गरेका छन् । तर अभियानकर्मीहरूले यो बाँधलाई तिब्बती र उनीहरूको भूमिमा बेइजिङको दमनको पछिल्लो उदाहरण भएको भन्दै विगतका विरोधलाई समेत दबाइएको बताउँछन् ।

गत वर्ष चीन सरकारले अर्को जलविद्युत् बाँधको विरोध गरेका सयौँ तिब्बतीहरूलाई पक्राउ गरेको थियो । त्यो गिरफ्तारी र दमनसँगै अन्त्य भएको एवं त्यसक्रममा केही मानिसहरू गम्भीर घाइते भएको बीबीसीले स्रोत र प्रमाणित फुटेजहरूमार्फत् थाहा पाएको थियो । जैविक विविधताका लागि खास मानिने तिब्बती उपत्यकाहरूमा बाढीलगायतका जोखिमले वातावरणीय चिन्ता उत्पन्न गराउने गर्छन् । यहाँ भूकम्पीय ‘फल्ट लाइन’हरू समेत पर्छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार