२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

साढे दुई लाख बढी पर्यटकले अवलोकन गरे टीकापुर पार्क

गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख ५३ हजार ४६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन् । टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा ९३ लाख ४४ हजार ४१० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आव २०८०–०८१ मा नगरपालिकाले पार्कबाट ६३ लाख ९७ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारी अनुसार गत वर्ष दुई लाख १८ हजार २०८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए । जसबाट ६५ लाख ४६ हजार २४० रुपैयाँ राजस्व सङ्कलन भएको छ भने ३५ हजार २६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन् ।

उनीहरूबाट नगरपालिकाले पाँच लाख ५८ हजार ९०० राजस्व सङ्कलन भएको देखिन्छ । त्यतिमात्र नभई पार्क अवलोकनमा आउने पर्यटकहरूको सवारीसाधन पार्किङबाट मात्रै आठ लाख ३७ हजार १०० रुपैयाँ राजस्व उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख केसी बताउँछन् । त्यसैगरी पिकनिक स्पट, फोटोग्राफी, क्यामरालगायत विविधबाट १४ लाख ३२ हजार १७० रुपैयाँ सङ्कलन भएको छ ।

पार्कमा रहेको वीरेन्द्र विश्राम घर पर्यटकका लागि खुला गरिएपछि पछिल्लो समय पर्यटकहरूको आवागमन बढ्दै गएको हो । पार्कमा पछिल्लो समय दैनिक करिब ५०० पर्यटन अवलोकनका लागि आउने गरेका छन् । पार्कमा व्यावसायिक फोटोग्राफी सञ्चालन भएपछि पनि पर्यटकको संख्या बढेको देखिन्छ । अहिले पार्कभित्र करिब ३५ जना युवाहरू व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका छन् ।

टीकापुर–३ का नैनबहादुर चौधरी कुखुरापालन व्यवसाय छोडेर दुई वर्षदेखि फोटोग्राफरको काम गर्दै आएका छन् । कुखुरापालनबाट भन्दा राम्रो आम्दानी फोटोग्राफीबाट हुने भएपछि यतातिर लागेको उनको भनाइ छ । ‘सुरुवातका दिनमा धेरै राम्रो आम्दानी थियो, दिनमै चार–पाँच हजार रुपैयाँसम्म कमाउन सकिन्थ्यो,’ उनी भन्छन्, ‘आम्दानी राम्रो देखेपछि कुखुरापालन व्यवसाय छोडेर यता लागेको हुँ, तर अहिले धेरैजना यसैमा जोडिएका कारण त्यस्तो आम्दानी छैन ।’

पार्कभित्र फोटोग्राफीको काम गर्ने अधिकांश युवाहरू अध्ययनसँगसँगै फोटोग्राफरको काम गर्दै आएका छन् । टीकापुर स्थिति खड्ग स्मृति माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका सुनिल चौधरी अहिले पार्कमा फोटोग्राफीको काम गर्दै आएका छन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै दैनिक दुईदेखि तीन हजार रुपैयाँ आम्दानी गर्दै आएको बताए । ‘सबै दिन एउटै किसिमको हुँदैन । कुनै दिन बढी हुन्छ त कुनै दिन हुँदैन,’ उनी भन्छन्, ‘आफ्नो अध्ययनको खर्च अनि कोठाको खर्च व्यवस्थापनमा कुनै समस्या छैन ।’

नगरपालिकाले चालू आर्थिक वर्षबाट पार्कको प्रवेश शुल्क वृद्धि गरेको छ । यसभन्दा पहिलेप्रति व्यक्ति ३० रुपैयाँ लाग्दै आएको शुल्क बढाएर ५० पुर्याइएको छ । त्यसैगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूले यसभन्दा पहिले प्रतिव्यक्ति १५ तिर्दै आएकोमा अब ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । नगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार उक्त दर हेरफेर गरिएको नगरप्रमुख रामलाल डगौरा थारुले बताए ।

त्यसैगरी प्रतिदिन १०० रुपैयाँमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका व्यवसायीको शुक्ल वृद्धि गरेको छ । अहिले प्रतिदिन फोटोग्राफरले पार्कभित्र फोटो खिचेको २०० शुल्क तिर्नुपर्ने भएको छ । ‘आवश्यकता र औचित्यका आधारमा धेरैपछि पार्कको प्रवेश शुल्क लगायतका करका दरमा हेरफेर गरिएको बताउँदै नगरप्रमुख थारुले भने, ‘यसलाई कार्यान्वयन गर्दै पार्कलाई थप व्यवस्थित र रमणीय बनाउँदै लगिनेछ ।’

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार